१०% ब्याज उठाएर कर्जा पुनरतालिकीकरण गर्न पाइने, बैंक तथा वित्तीय संस्थाहरुलाई राहत

बैंक तथा वित्तीय संस्थाहरुले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित भएका उद्यम तथा व्यवसायमा प्रवाहित कर्जाको बुझाउन पर्ने ब्याजको १० प्रतिशत उठाएर कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न पाउने भएका छन् ।

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित भएका उद्यम तथा व्यवसायमा प्रवाहित कर्जाको बुझाउन पर्ने ब्याजको १० प्रतिशत उठाएर कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न पाउने भएका छन् । शुक्रबार जारी गरेको निर्देशन अनुसार मार्ग विस्तारका कारण प्रभावित कर्जालिनेले बैंक तथा वित्तीय संस्थामा पुनरसंरचना तथा पुनरतालिकीकरणका लागि आवेदन गर्दा ऋणीको नगद प्रवाह र आय आधारमा विस्तृत विश्लेषण गरी आवश्यक र औचित्य भएकै आधारमा बैंकले पुनरसंरचना गर्न दिने भनेको हो ।

यस अन्तर्गत प्रभावित ऋणीलाई कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्दा ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गर्नेगरी पुनरसंरचना गर्न सकिने प्रावधान राखिएको छ । 

निर्देशानुसार यो पुनरसंरचना तथा पुनरतालिकीकरणको प्रक्रिया २०८३ असार मसान्तभित्र सक्नुपर्ने छ । उक्त समयसीमा भित्र बैंक तथा वित्तीय संस्थाले आवेदन आएमा प्रभावित ऋणीका लागि प्रक्रिया पूरा गरी सम्बन्धित कर्जा पुनरसंरचना गर्नुपर्ने व्यवस्था छन् ।

बैंक तथा वित्तीय संस्थाहरुका अनुसार, मार्ग विस्तारका कारण व्यापार, उत्पादन र सेवा क्षेत्रमा असर परेको अवस्थामा कर्जा भुक्तानीमा समस्या देखिएको थियो । यसलाई मध्यनजर गर्दै राष्ट्र बैंकले यस्तो निर्देश जारी गरेको हो । यसले प्रभावित ऋणीलाई कर्जा भुक्तानीमा लचिलो समय र संरचनात्मक राहत दिनै प्रमुख उद्देश्य रहेको छ ।

बैंकिङ क्षेत्रमा भौतिक पूर्वाधारका कारण कर्जा जोखिम बढ्दै गएको बेला यस्तो निर्देशले व्यवसायीलाई राहत दिने र कर्जा पुनर्संरचनामा स्पष्ट मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ ।