सहमति कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडामा अवरोध, फोहोर बोकेका गाडी फिर्ता

बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहोर फाल्न नदिएका हुन् ।


काठमाडौं । नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहर विसर्जन पुनः अवरुद्ध भएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहोर फाल्न नदिएका हुन् । 

स्थानीयका अनुसार, पुराना सहमति कार्यान्वयन नभएसम्म फोहर विसर्जन गर्न नदिने अडान लिँदै काठमाडौँबाट फोहोर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको हो। यसअघि गत कात्तिक १६ गते कुलमान घिसिङ सहरी विकासमन्त्री हुँदा विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि केही समयका लागि फोहर विसर्जनको अवरोध हटेको थियो । नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् । ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताले पनि उनीहरूलाई साथ दिएका छन् ।