माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न, परीक्षण उत्पादन सुरु
म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन थालिएको जानकारी दिए ।
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युतगृहमा उपकरण जडान र प्रसारणलाइन निर्माण सम्पन्न भएको हो ।
आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन थालिएको जानकारी दिए । “बाँध, विद्युतगृह, पाइपलाइन, प्रसारणलाइन र विद्युतगृह उपकरण जडानका साथै आन्तरिक परीक्षण सकिएको छ,” उनले भने, “नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा परीक्षण उत्पादनमा जुटेका छौँ ।”
विसं २०७८ मा उक्त आयोजना निर्माण सुरु भएको थियो । आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । सुगुरथलामा बाँध, डिसेन्डर ९पानी थिग्राउने पोखरी०, दुई हजार ९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान, फेदीमा विद्युतगृह निर्माण गरिएको छ । विद्युतगृह परिसरमा ‘स्वीचयार्ड’ निर्माण गरिएको छ ।
तीन अर्ब लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छ्रे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवर्द्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ । राहुघाट र सहायक नदीमा यसअघि तीनवटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । तुँदी पावरले प्रवर्द्धक गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मंगले र त्यसको क्यासकेडको रुपमा ४८।५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् ।