नाडा निर्वाचनसम्बन्धी रिट निवेदन खारेज, नव–निर्वाचित कार्यसमितिलाई शपथको बाटो खुल्यो

काठमाडौं । अटोमोबाइल क्षेत्रको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को विवाद अदालतले टुंगो लगाइदिएको छ । केही समयअघि सम्पन्न निर्वाचन प्रक्रियाविरुद्ध दायर गरिएको रिट निवेदन पाटन उच्च अदालतले खारेज गरेसँगै नयाँ कार्य समितिलाई सपथ गराएर काम गर्ने बाटो खुलेको हो । नाडाको साधारण सभाबाट सुरेन्द्र उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको थियो ।

अदालतको यस निर्णयसँगै नाडाको नव–निर्वाचित कार्यसमितिको शपथ ग्रहणका लागि कानुनी बाटो खुलेको छ । निर्वाचनसम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले नाडाले न्यायालयप्रतिको सम्मान तथा विधिको शासनप्रतिको प्रतिबद्धता जनाउँदै नव–निर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण कार्यक्रम अस्थायी रुपमा स्थगित गरेको थियो ।

पाटन उच्च अदालतबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएसँगै उक्त विषयसँग सम्बन्धित कानुनी अवरोध समाप्त भएको नाडाले जनाएको छ । संस्थाका अनुसार अब नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम संस्थाको विधान र स्थापित प्रक्रियाअनुसार निकट भविष्यमा सम्पन्न गरिने छ ।

नाडाले अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै उक्त निर्णयले विवादित विषयमा स्पष्टता ल्याएको र संस्थालाई थप स्थिरता तथा एकताका साथ अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

संस्थाले सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थासँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद र उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि जनाएको छ ।

करिब पाँच दशकदेखि क्रियाशील नाडाले नेपालमा अटोमोबाइल उद्योगको विकास, प्रवर्द्धन, नीतिगत सहकार्य तथा सरोकारवालाबीच समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको छ ।