७ महिनामा रेमिट्यान्स ४० प्रतिशतले बढ्यो, माघमै भित्रियो २ खर्ब

विदेश जाने श्रमिकको संख्या पनि बृद्धि

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो बृद्धि ५.५ प्रतिशत मात्र थियो ।

काठमाडौं । चालु आर्थिक वर्षको सात महिना (माघ) सम्म विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा उल्लेनिय बृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिअनुसार ७ महिनामा रेमिट्यान्स गत वर्षको तुलनामा ३९.८ प्रतिशतले बढेर १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ पुगेको छ । २०८१ माघमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । 

२०८२ माघ महिनामा विप्रेषण आप्रवाह १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ छ । गत वर्ष माघमा यस्तो विप्रेषण १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ मात्रै थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो बृद्धि ५.५ प्रतिशत मात्र थियो । समीक्ष अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ८४ अर्ब २७ करोड रुपैयाँ छ । अघिल्लो वर्ष माघमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ४५ हजार १५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख २७ हजार ४२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ७४ हजार ६२२ र १ लाख ९० हजार ८८६ रहेको थियो । गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षसम्म आउँदा विदेश जाने श्रमिकको संख्या पनि बृद्धि भएको छ ।