तेल भण्डार प्रयोग गर्न जी–७ तयार

मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि जी–७ देशका ऊर्जा मन्त्रीहरूले बजार स्थिर बनाउन आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्नेसम्मका ‘सबै आवश्यक कदम’ चाल्न तयार रहेको बताएका छन् ।



काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि जी–७ देशका ऊर्जा मन्त्रीहरूले बजार स्थिर बनाउन आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्नेसम्मका ‘सबै आवश्यक कदम’ चाल्न तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) सँग समन्वय गर्दै ऊर्जा आपूर्ति सुरक्षित राख्ने र मूल्यवृद्धि नियन्त्रण गर्ने उपायमा उनीहरू सहमत भएको जनाइएको छ ।

फ्रान्सको अध्यक्षतामा रहेको जी–७ समूहका ऊर्जा मन्त्रीहरूले बुधबार जारी गरेको संयुक्त विज्ञप्तिमा ऊर्जा बजारमा देखिएको अस्थिर अवस्थालाई ध्यानमा राख्दै सक्रिय कदम चाल्ने तयारी गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा रणनीतिक तेल भण्डारको प्रयोगलाई समेत सम्भावित उपायका रूपमा समर्थन गरिएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि मध्यपूर्वमा युद्धका कारण देखिएका आर्थिक प्रभावबारे छलफल गर्न जी–७ देशका नेताहरूको भिडियो सम्मेलन बोलाउने तयारी गरिएको जानकारी दिए। उक्त बैठकमा ऊर्जा आपूर्ति र तेल बजारको अवस्थाबारे विशेष रूपमा छलफल हुने अपेक्षा गरिएको छ ।

यसअघि मङ्गलबार पेरिसस्थित अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरूले आपतकालीन बैठक गर्दै आपूर्ति सुरक्षाको अवस्थाबारे समीक्षा गरेका थिए। मध्यपूर्व युद्धका कारण विश्व ऊर्जा बजारमा परेको असर मूल्याङ्कन गर्नुका साथै आवश्यक परे आपतकालीन तेल भण्डार सार्वजनिक गर्ने सम्भावनाबारे पनि छलफल गरिएको थियो ।

जी–७ ऊर्जा मन्त्रीहरूले आफ्नो विज्ञप्तिमा जी–७ सदस्य राष्ट्रहरू, आइइएका सदस्य देशहरू तथा अन्य साझेदारहरूसँग घनिष्ठ समन्वय जारी रहेको बताएका छन् । उनीहरूका अनुसार आइइए सदस्य राष्ट्रहरूसँग मिलेर आवश्यक परे सबै उपायहरू लागू गर्न तयार रहने सहमति भएको छ। साथै जी–७ सदस्यहरूले जारी छलफलबाट आउने सिफारिसहरूलाई सावधानीपूर्वक विचार गर्ने पनि उल्लेख गरिएको छ ।

तर फ्रान्सका अर्थमन्त्री रोलान्ड लेस्क्योरले हालसम्म कुनै औपचारिक निर्णय भने नभएको बताएका छन्। उनका अनुसार ऊर्जा आपूर्ति सुरक्षित राख्नका लागि विश्व बजारमा स्पष्ट सन्देश पठाउन आवश्यक रहेको छ ।

हाल आइइए सदस्य राष्ट्रहरूसँग करिब एक अर्ब २० करोड ब्यारेल सार्वजनिक आपतकालीन तेल भण्डार रहेको छ। यसका अतिरिक्त सरकारी निर्देशनअनुसार उद्योग क्षेत्रले राखेको करिब ६० करोड ब्यारेल तेल भण्डार पनि उपलब्ध छ।