मध्यपूर्व अवरोधले आज ७ एअरलाईन्सका उडान रद्द, फ्लाई दुबईले भन्यो मार्च ११ सम्म जहाज उड्दैन
मध्यपूर्व अवरोधका कारण जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका कुवेत, शारजाह, दुबई, दोहा र दमामका आजका उडानहरु रद्द भएका छन् ।
काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण हवाई क्षेत्रमा समस्या निरन्तर बल्झिँदै गएको छ । आज मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मध्यपूर्वका देशहरूलाई गन्तव्य बनाएर उडान भर्ने वायुसेवा कम्पनीका जहाजहरू ढिलाइ हुने, उडान तालिका परिवर्तन गर्ने र उडानै रद्द गर्ने क्रम निरन्तर जारी छ । मध्यपूर्व क्षेत्रमा उत्पन्न हालैको प्रतिबन्ध र प्राविधिक कठिनाइका कारण फ्लाई दुबईले मार्च ११ सम्म जहाज नउड्ने जानकारी दिएको छ ।
मध्यपूर्व अवरोधका कारण जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका कुवेत, शारजाह, दुबई, दोहा र दमामका आजका उडानहरु रद्द भएका छन् ।
विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन सम्बन्धित वायुसेवा कम्पनी र सम्वन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिएको छ । उडान रद्द भएपछि यात्रुहरूको सहजताका लागि विमानस्थलले सम्वन्धित वायुसेवा कम्पनीको वेबसाइट वा उपलब्ध गराइएका टेलिफोन नम्बरहरूमा सम्पर्क गर्न भनेको छ ।