रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । तीन पटक प्रतिनिधिसभा निर्वाचन लडेर तीन पटकनै पराजय बेहोरेका मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेका हुन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । तीन पटक प्रतिनिधिसभा निर्वाचन लडेर तीन पटकनै पराजय बेहोरेका मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेका हुन् ।
‘मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन । धेरै सोचि–विचारी लिँदैछु । देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु,’ मिश्रले भनेका छन्, ‘विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु ।’
उनले परिप्रेक्ष्यमा मैले आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको र राजसंस्था पुनर्स्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा मेरा अडान यथावत रहनेछन् र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहने उनले जनाएका छन् ।
उनले निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई वधाई तथा शुभकामना दिँदै प्रचण्डपथ’मा पट्टी लगाएको घोडा सरह एकोहोरीएर दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस् भन्ने कामना गरेका छन् ।