प्रत्येक निर्वाचन क्षेत्रको छुट्टाछुट्टै मतगणना सम्वन्धित क्षेत्रमै हुने, प्रत्यक्षको सकिएपछि समानुपातिक
काठमाडौं उपत्यकालगायत मुख्य शहरी क्षेत्रको मतगणना आजै साँझबाट गर्ने तयारी
मतगणना सुरु हुनुअघि जिल्ला तथा निर्वाचन क्षेत्रस्थित मतगणनामा स्थलमा सर्वदलीय बैठक बस्ने छ । आयोगले प्रत्यक्षतर्फको मतपरिणाम गणना सुरु भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने योजना बनाएको छ ।
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार पहिलो निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्र मातहतका मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा संकलन भईसकेपछि सुरु गरिने भएको हो । मतगणना सुरु हुनुअघि जिल्ला तथा निर्वाचन क्षेत्रस्थित मतगणनामा स्थलमा सर्वदलीय बैठक बस्ने छ । आयोगले प्रत्यक्षतर्फको मतपरिणाम गणना सुरु भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने योजना बनाएको छ । प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि समानुपातिकतर्फको मतगणना सुरु गरिने आयोगको भनाई छ ।
आयोगकाअनुसार काठमाडौंका उपत्यकाका सबै निर्वाचन क्षेत्रमा सकेसम्म आजै मतगणना थालिने छ । उपत्यकामा आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । यद्यपी खसेको मतको यकीन विवरण आउन केही समय लाग्ने बताइएको छ ।