९ देशका हवाई मार्ग बन्द हुँदा मंगलबार १६ अन्तर्राष्ट्रिय उडान रद्द

रद्द भएका उडानहरू कुवेत, सारजहाँ, आबुधाबी, दुबई र दोहातिरका थिए । मध्यपूर्वी देशहरूका एयरस्पेस बन्द रहँदा अन्य अन्तर्राष्ट्रिय मार्गहरू सामान्य सञ्चालनमा छन् ।

काठमाडौं । मध्यपूर्वी देशहरूमा बढ्दो युद्ध र हवाई क्षेत्र प्रतिबन्धका कारण नेपालका अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार पूर्वनिर्धारित १६ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका कतिपय उडान स्थगित भएका हुन् ।

रद्द भएका उडानहरू कुवेत, सारजहाँ, आबुधाबी, दुबई र दोहातिरका थिए । मध्यपूर्वी देशहरूका एयरस्पेस बन्द रहँदा अन्य अन्तर्राष्ट्रिय मार्गहरू सामान्य रूपमा सञ्चालनमा रहेका विमानस्थल कार्यालयले जनाएको छ ।

आज ९ देशकाे हवाई मार्ग पनि बन्द छ । मंगलबार कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाई मार्ग पनि बन्द रहे । हिजो सोमबार पनि त्रिभुवन विमानस्थलका लागि पूर्वनिर्धारित कुल १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका थिए ।