निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ‍ : आयोग

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि आयोगको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पुरा गरेर मतदान केन्द्रमा समेत मतदानको पूर्व गर्नुपर्ने कामहरू सम्पन्न भइसकेको जानकारी दिए ।

 काठमाडौं निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानको पूर्व गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको जनाएको छ ।  आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि आयोगको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पुरा गरेर मतदान केन्द्रमा समेत मतदानको पूर्व गर्नुपर्ने कामहरू सम्पन्न भइसकेको जानकारी दिए ।

आयोग सम्पूर्ण रूपमा मतदान केन्द्रमा केन्द्रित भएको भन्दै उनले मतदान केन्द्रको हाता तोक्ने, निषेधित क्षेत्र तोक्ने सूचना टाँस्ने लगायतका कामहरू भएको बताए। आयोगले अहिले जिल्ला तह र मतदान केन्द्र तहबाट आएका विभिन्न विषयहरूलाई सम्बोधन गर्ने काम गरिरहेको उनको भनाइ छ ।

प्रवक्ता भट्टराईले निर्वाचन पर्यवेक्षणका लागि आएका विदेशी प्रतिनिधिहरूलाई सहजीकरण गर्ने काम भइसकेको भन्दै निर्वाचनमा ५ हजारभन्दा बढी पर्यवेक्षक परिचालन हुने उल्लेख गरे । त्यस्तै उनले अहिले मौन अवधि भएकाले यस बीचमा आएका आचारसंहिता उल्लंघनका घटनाहरूमा आयोगले कानुनबमोजिम काम गरिरहेको जानकारी दिए । 

त्यसैगरी निर्वाचन सुरक्षाका लागि भरपर्दो प्रबन्ध गरिएको र सरकारका तर्फबाट पनि सुरक्षाका सवालमा सक्रियतापूर्वक काम भएको उनले बताए। प्रवक्ता भट्टराईले फागुन २१ गते आफ्नो मत बदर नहुने गरि मतदान गर्न अनुरोध समेत गरेका छन् ।