एक महिनामै भित्रिए १ लाख ५ हजार बढि पर्यटक , सबैभन्दा धेरै भारतबाट

फेब्रुअरी २०२६ मा १ लाख ५ हजार ४ सय ४१ पर्यटक नेपाल भित्रिएका छन् । भारतबाट २२ हजार ७४५ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ११.२ प्रतिशत हो ।

काठमाडौं । फेब्रुअरी २०२६ मा १ लाख ५ हजार ४ सय ४१ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यस महिना गत वर्ष सोही अवधिको तुलनामा ११ हजारभन्दा धेरै पर्यटक नेपाल आएका छन् । फेब्रुअरी २०२५ मा ९६ हजार ८ सय ८० पर्यटक नेपाल आएका थिए । गत वर्षको तुलनामा यस वर्ष ८.८ प्रतिशत पर्यटक बढेका हुन् । 

भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । भारतबाट २२ हजार ७४५ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ११.२ प्रतिशत हो ।

त्यसैगरी अन्य प्रमुख पर्यटकीय स्रोतहरुमा चीन, संयुक्त राज्य अमेरिका, श्रीलंका, म्यानमार, बेलायत, अष्ट्रेलिया, थाइल्याण्ड, बंगलादेश र जर्मनी रहेका छन् ।

तथ्याङ्कअनुसार जर्मनीबाट ५ हजार ६१८ जना, श्रीलंकाबाट ६ हजार ०३५ जना, बेलायतबाट ४ हजार १२६, अष्ट्रेलियाबाट ३ हजार ६३८ जना, थाइल्याण्डबाट ३ हजार २१२ जना, बंगलादेशबाट २ हजार ८५० जना, चीनबाट ९ हजार ७१० जना र संयुक्त राज्य अमेरिकाबाट १० हजार ८१६ जना नेपाल आएका छन् ।

क्षेत्रगत वितरण अनुसार क्षेत्रगत आधारमा हेर्दा दक्षिण एशिया (सार्क राष्ट्रहरू)बाट सबैभन्दा बढी ३५ हजार ३४८ (३३.५ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।

त्यसपछि अन्य एसियाली मुलुकहरूबाट २९ हजार ८५७ (२८.३ प्रतिशत), युरोपबाट १७ हजार ४९३ (१६.६ प्रतिशत ), ओसेनियाबाट ७ हजार ९५५ (७.५%), मध्यपूर्वबाट १ हजार ६८० (१.६ प्रतिशत ), अफ्रिकाबाट ९४९ (०.९ प्रतिशत) र अमेरिकाबाट ३४४ (०.३ प्रतिशत ) पर्यटक आगमन भएको उल्लेख छ ।