नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित, विमानस्थलमा जहाजहरू 'स्ट्यान्डबाइ'
अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा रोकिएपछि वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जान लागेका हजारौँ यात्रुहरू काठमाडौँमै अलपत्र परेका छन् । विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्नो एयरलाइन्ससँग सम्पर्कमा रहन र एयर स्पेस खुलेको आधिकारिक सूचना आएपछि मात्र विमानस्थल प्रवेश गर्न आग्रह गर्दै आएको छ ।
काठमाडौं । मध्यपूर्वमा चर्किएको युद्ध र तनावका कारण नेपालबाट हुने सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरू अनिश्चितकालका लागि स्थगित भएका छन् । युद्धग्रस्त क्षेत्रका देशहरूले आफ्नो हवाई मार्ग (एयर स्पेस) बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेका हुन् ।
विश्वका अन्य शान्त र सुरक्षित क्षेत्रहरू (जस्तै: अमेरिका, युरोप वा पूर्वी एसियाली देशहरूबीच) मा हवाई उडानहरू नियमित भएपनि नेपाल भने मध्यपुर्वको संकटमा जेलिएको हो । खासगरि नेपालबाट उड्ने अधिकांश अन्तर्राष्ट्रिय विमानहरूले मध्यपूर्वको ट्रान्जिट वा हवाई मार्ग प्रयोग गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तोष कुमार बस्नेतले अन्तर्राष्ट्रिय एयर स्पेस बन्द भएका कारण उडानहरू रोक्नुपरेको बताए । प्रवक्ता बस्नेतका अनुसार सम्बन्धित क्षेत्रको एयर स्पेस नखुलुन्जेल नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुने छैन । 'उडान भर्न नसकेका विभिन्न एयरलाइन्सका विमानहरू अहिले त्रिभुवन विमानस्थलमै पार्किङ गरिएका छन् । विमानहरू एयर स्पेस खुल्ने प्रतीक्ष गरिरहेका छन् । रुट क्लियर भएको जानकारी आउने बित्तिकै उडान भर्न सबै विमानहरू पूर्ण रूपमा तयारी (स्ट्यान्डबाइ) छन्', प्रवक्ता बस्नेतले भने । यद्यपि, बन्द रहेको एयर स्पेस कहिले खुल्छ र उडान कहिलेबाट सुचारु हुन्छ भन्ने बारे कुनै टुङ्गो नभएको स्थिति छ ।
अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा रोकिएपछि वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जान लागेका हजारौँ यात्रुहरू काठमाडौँमै अलपत्र परेका छन् । विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्नो एयरलाइन्ससँग सम्पर्कमा रहन र एयर स्पेस खुलेको आधिकारिक सूचना आएपछि मात्र विमानस्थल प्रवेश गर्न आग्रह गर्दै आएको छ । अहिले विशेषगरी इरान, इजरायल, सिरिया, लेबनान लगायतका मध्यपूर्वी (खाडी) क्षेत्रहरूमा युद्ध र हवाई आक्रमणको उच्च जोखिमका कारण त्यस क्षेत्रको आकासमा उडान पूर्ण रूपमा ठप्प छ । अमेरिका, इजरायल र इरानबिचको द्वन्द्वका कारण एसियालाई युरोप र अमेरिकासँग जोड्ने मुख्य हवाई मार्ग नै प्रभावित भएको हो ।