सोमबार त्रिभुवन विमानस्थलबाट हुने ३१ अन्तर्राष्ट्रिय उडान रद्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचनाअनुसार सोमबार ३१ वटा उडान बन्द भएको छ । हाल कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाई क्षेत्र बन्द भएका छन् ।
काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो असामान्य अवस्थाका कारण केही देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ती देशतर्फ हुने अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचनाअनुसार सोमबार ३१ वटा उडान बन्द भएको छ । हाल कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाई क्षेत्र बन्द भएका छन् ।
कार्यालयका अनुसार आजका लागि तय गरिएका विभिन्न एयरलाइन्सका उडानहरू रद्द भएका छन् भने केही उडानहरू चैत ३ गतेसम्मका लागि स्थगित गरिएका छन् ।
रद्द भएका प्रमुख उडानहरूमा जजीरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज तथा हिमालय एयरलाइन्सका उडान रहेका छन् । विमानस्थल कार्यालयले प्रभावित यात्रुहरूलाई सम्बन्धित एयरलाइन्ससँग सम्पर्क राख्न तथा उडानबारे अद्यावधिक जानकारी लिन आग्रह गरेको छ । साथै हवाई व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एयरलाइन्स तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि जनाएको छ ।