इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु, १५ देशका ५८ जना घाइते

आक्रमण सुरु भएको २४ घण्टाभित्रै भएको घटनामा नेपाल, पाकिस्तान र बंगलादेशका एकरएक जना नागरिकको ज्यान गएको छ । यद्यपि मृत्यु हुनेहरूको परिचय खुलाईएको छैन ।

काठमाडौं । इरानले यूएईमा गरेको हवाई आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । 

आक्रमण सुरु भएको २४ घण्टाभित्रै भएको घटनामा नेपाल, पाकिस्तान र बंगलादेशका एकरएक जना नागरिकको ज्यान गएको छ । यद्यपि मृत्यु हुनेहरूको परिचय खुलाईएको छैन । संयुक्त अरब इमिरेट्स (युएई) को रक्ष मन्त्रालयले आइतबार जारी प्रतिवेदन अनुसार आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ विभिन्न देशका ५८ जना नागरिक घाइते भएका छन् ।  

तीन देशका तीन नागरिकको ज्यान गए पनि उनीहरूको मृत्यु कहाँ र कसरी भयो भन्ने विषयमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन । यूएईको राष्ट्रिय सञ्चारमाध्यम गल्फ न्युजले अहिले यूएईको अवस्था सामान्य रहेको जनाएको छ । अधिकारीहरूले सर्वसाधारणलाई अफवाहमा नलाग्न र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेका छन् ।

युएईको रक्ष मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरिसकेको छ । यूएईको शक्तिशाली हवाई रक्ष प्रणालीले अधिकांश मिसाइल र ड्रोनहरूलाई आकाशमै नष्ट गरिदिए तापनि ३५ वटा ड्रोनहरू मुलुकका विभिन्न स्थानमा खसेका थिए । तीमध्ये २१ वटा ड्रोनहरूले नागरिक बस्ती र भौतिक संरचनालाई निशाना बनाउँदा मानवीय क्षति भएको हो ।