साताभर सुन प्रतितोला १० हजार २ सय रुपैयाँले बढ्यो, आगामी साता के होला ?

अन्तर्राष्ट्रिय बजारमा सुनको बढ्दो माग, अमेरिकी डलर विनिमय दरको प्रभाव र भू–राजनीतिक अनिश्चितताले मूल्यमा दबाब बनाईरहेको छ । आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको प्रवृत्ति कस्तो रहन्छ भन्ने विषयले स्वदेशी बजारमा सुनको मूल्य निर्भर हुने देखिन्छ ।

काठमाडौं । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । समग्रमा ४ दिन मूल्यमा आएको बृद्धिमा एक दिन स्थिरता प्राप्त गरेको र अर्को दिन मूल्यमा सामान्य गिरावट देखिँदा पनि साताभर मूल्य उच्च बढ्न पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाबको प्रभाव नेपालमा पनि परेको हो । यो साता सुनको मूल्य प्रतितोला १० हजार २ सय रुपैयाँ अर्थात् ३.३५ प्रतिशतले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन ८ गते शुक्रबार प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य फागुन १५ गते शुक्रबार बढेर ३ लाख १४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

सुनको मूल्य साताको पहिलो दिन फागुन १० गते आइतबार एकैदिन ५ हजार ६ सय रुपैयाँले बढेको थियो । त्यसपछि फागुन ११ गते पुनः ३ हजार २ सय रुपैयाँले बढेको सुनको मूल्य फागुन १२ गते १ हजार ३ सय रुपैयाँले बढ्यो । फागुन १३ गते स्थिर रहेको सुनको मूल्य फागुन १४ गते अर्थात् बिहीबार फेरी प्रतितोला ६ सय रुपैयाँ बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भयो । बिहीबारको मूल्य नै यो साताको उच्च मूल्य हो । तर, साताको अन्तिम दिन फागुन १५ गते सुनको मूल्य सामान्य अर्थात् प्रतितोला ५ सय रुपैयाँलले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको बढ्दो माग, अमेरिकी डलर विनिमय दरको प्रभाव र भू–राजनीतिक अनिश्चितताले मूल्यमा दबाब बनाईरहेको छ । आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको प्रवृत्ति कस्तो रहन्छ भन्ने विषयले स्वदेशी बजारमा सुनको मूल्य निर्भर हुने देखिन्छ । 

महासंघले यो साताको मूल्य वृद्धिलाई पूर्ण रूपमा अन्तर्राष्ट्रिय परिस्थितिहरूसँग जोडेर विश्लेषण गरेको छ । मुख्यगरी अमेरिकी केन्द्रीय बैंक (फेड) को मौद्रिक नीतिमा देखिएको अन्यौलता र ब्याजदर घट्न सक्ने सम्भावनाले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएको देखिन्छ । अर्कोतिर विश्व राजनीतिमा देखिएको तनाव, भूराजनीतिक अस्थिरता र ठूला अर्थतन्त्रहरूबीचको व्यापार युद्धले सुरक्षित लगानीको माध्यम सुन बन्न जाँदा विश्वव्यापी माग बढिरहेको छ । केही वर्ष यता विभिन्न देशका केन्द्रीय बैंकहरूले आफ्नो विदेशी मुद्रा सञ्चितिको सट्टा सुनको भण्डारणलाई जोड दिएका कारण पनि सुनको मूल्यमा दबाब सिर्जना गरेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो ।