काठमाडौँ महानगरका ३६ हजार बढी विद्यार्थी, शिक्षक र कर्मचारी एकीकृत डिजिटल हाजिरी प्रणालीमा समावेश
काठमाडौँ महानगरपालिका भित्रका ८३ वटा सामुदायिक विद्यालयमा ३६ हजार २८० विद्यार्थी, शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, आया तथा अन्य कर्मचारीलाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा समावेश गरिएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका ८३ वटा सामुदायिक विद्यालयमा ३६ हजार २८० विद्यार्थी, शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, आया तथा अन्य कर्मचारीलाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा समावेश गरिएको छ ।
गत माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालयमा विद्युतीय हाजिरी प्रणाली कार्यान्वयन निर्देशन दिएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले कार्य सुरु गरेका थिए । महानगरको आन्तरिक जनशक्तिबाट प्रणाली विकास गरियो भने कर्मचारीहरुलाई तालिम प्रदान गरी डेटा इन्ट्री र प्रतिवेदन निर्माण गर्न सक्ने बनाइएको छ ।
महानगरको शिक्षा विभागले २०८२ चैत्र १ देखि विद्यालयमा पठाइने अनुदान र निकासा प्रणालीमा केवल हाजिरीमा समावेश तथ्याङ्कलाई आधार मान्ने निर्णय गरेको छ ।
साथै, विद्यालयहरूको पूर्वाधार विकासका लागि ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ । पहिलो चरणमा ४, दोस्रो चरणमा ११ र तेस्रो चरणमा २३ विद्यालयको विस्तृत परियोजना प्रतिवेदन तयार हुँदैछ। माध्यमिक शिक्षा परीक्षा (एसईई) लक्षित विशेष तयारी कक्षाहरू पनि सञ्चालन भइरहेको छ ।
महानगरपालिकाले चालु आर्थिक वर्षमा पठाइने सबै अनुदान २०८३ बैशाख मसान्तभित्र विद्यालयमा उपलब्ध गराउने र खर्च नभएको रकम २०८३ असार २४ भित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाएको छ ।
साथै, शिक्षक क्षमता विकास तालिम, गोष्ठी, अभिमुखीकरण, ई–हाजिरी डिभाइस, ल्यापटप तथा इन्टरनेट सुविधा पनि आवश्यकतानुसार उपलब्ध गराइने विभागले जनाएको छ ।