निर्वाचनकै मुखमा २३ सहसचिवको सरुवा, वीरगन्ज महानगरसहित ठूला पालिकाका प्रशासकीय अधिकृत चलाईए
विशेषगरी ठूला स्थानीय तहहरूको प्रशासनिक नेतृत्व पनि फेरबदल गरिएको छ । वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेशमलाल कँडेललाई जिम्मेवारी तोकिएको छ ।
काठमाडौँ । २३ जना सहसचिवको सरुवा तथा पदस्थापन गरिएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो । ५ जनालाई काजमा खटाइएको छ भने अन्यको सरुवा गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका र विभिन्न निकायमा कार्यरत राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)हरूलाई जिम्मेवारी हेरफेर गर्दै नयाँ कार्यक्षेत्र तोकिएको हो । विशेषगरी ठूला स्थानीय तहहरूको प्रशासनिक नेतृत्वमा पनि फेरबदल गरिएको छ । इटहरी उपमहानगरपालिकामा महेश पराजुली, धनगढी उपमहानगरपालिकामा जनकराज भट्ट, धरान उपमहानगरपालिकामा तीर्थराज राई र नेपालगन्ज उपमहानगरपालिकामा मानबहादुर बमलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको छ। त्यस्तै, वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेशमलाल कँडेललाई जिम्मेवारी तोकिएको छ ।
एक नारायण शर्माको राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । झनक कुमार खत्रीको राष्ट्रिय दलित आयोगमा सरुवा गरिएको छ । हिरालाल चौधरीको प्रदेश प्रमुखकको कार्यालय कर्णाली प्रदेशमा सरुवा गरिएको छ भने जनकराज भट्टलाई धनगढी उपमहानगरपालिकामा कामकाजमा खटाइएको छ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा प्रेम बहादुर दौल्याल, मधेश प्रदेशमा नारायण प्रसाद दाहाल, लुम्बिनी प्रदेशमा मुगा राज पाण्डे र गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा विजय रानालाई सचिवको जिम्मेवारी दिएर पठाइएको छ । गृह मन्त्रालय र लोक सेवा आयोग जस्ता महत्वपूर्ण निकायहरूमा पनि नयाँ सहसचिवहरूको पदस्थापन भएको छ ।