पाकिस्तानको आक्रमणको सही समयमा जवाफ दिने अफगानिस्तानको चेतावनी

काठमाडौँ । पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्रमा तनाव पुनः बढेको छ। पाकिस्तानले अफगानिस्तानको भूभागमा हवाई आक्रमण गरेको दाबी गरिएको छ, जसमा बालबालिकासहित ११ जनाको ज्यान गएको बताइएको छ। घटनापछि काबुलले कडा प्रतिक्रिया जनाउँदै उचित समयमा सही जवाफ दिने चेतावनी दिएको छ।

पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इस्लामाबादस्थित एक शिया मस्जिद, बाजौर र बन्नूमा भएका आतङ्ककारी आक्रमणमा अफगानिस्तानमा रहेका समूहहरूको संलग्नता रहेको ठोस प्रमाण भेटिएको दाबी गरिएको छ। ती आक्रमणको जिम्मेवारी अफगानिस्तानमा सक्रिय तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेट अफ खुरासान प्रोभिन्स (आईएसकेपी) ले लिएको मन्त्रालयले जनाएको छ।

विज्ञप्तिमा पाकिस्तानले अफगान तालिबान सरकारलाई आफ्नो भूमिबाट पाकिस्तानविरुद्ध आतङ्ककारी गतिविधि हुन नदिन बारम्बार आग्रह गरेको तर त्यसतर्फ ठोस कदम नचालिएको आरोप लगाएको छ। सोही पृष्ठभूमिमा प्राप्त गोप्य सूचनाका आधारमा आतङ्ककारीका ठेगानालाई लक्षित गरी कारबाही गरिएको पाकिस्तानको दाबी छ।

उता, अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानी आक्रमणको कडा निन्दा गर्दै पक्तिका र नङ्गरहार प्रान्तमा गरिएको आक्रमणको जवाफ दिइने चेतावनी दिएको छ। मन्त्रालयले भनेको छ— "हामी चुप लागेर बस्ने छैनौँ, समय आएपछि यस्तो जवाफ दिनेछौँ कि (उनीहरूले) सम्झिरहनेछन्।" सीमाको सुरक्षा र नागरिकको संरक्षण राष्ट्रिय कर्तव्य भएको पनि अफगान पक्षले जनाएको छ।

अफगानिस्तानले उक्त आक्रमणलाई आफ्नो सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लङ्घन भएको दाबी गर्दै सर्वसाधारण र धार्मिक स्थल लक्षित भएको आरोप लगाएको छ। साथै, यस घटनालाई पाकिस्तानको आफ्नै सुरक्षा तथा गुप्तचर संयन्त्रको असफलताको परिणाम भएको टिप्पणीसमेत गरेको छ।

दुई देशबीच पछिल्ला वर्षहरूमा सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुँदै आएको छ। पछिल्लो घटनाले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्ने सङ्केत दिएको छ।