सम्पादकीयः परिवर्तन गराउन तत्काल संसद क्रियासिल बनाउ जेन्जी, ब्यवस्था जोगाउन जाग दलहरु

२०४७ पछि भ्रस्टाचारजन्य गतिविधिको उच्चस्तरीय छानबिन हुनुपर्छ भनेर वर्षौंदेखी माग भएकै हो । हरेक राजनीतिक दलका नेताहरुले आवाज उठाएकै हुन् । तर, सबै जना सरकारमा नजाँदासम्म विषय उठाउने, आफ्नो स्वार्थका लागि मात्र विषय उठाउने गरेकाले यो स्थिति सिर्जना भएको हो ।

जलिरहेको सिंहदरबार 


वितेको ३ दिनमा जति जेन्जी भनेर मासे, त्यो सकियो । मासिनु पर्ने मासिइसक्यो । मौकाको फाइदा उठाइसके । जेन्जीहरु तिमीहरु सुरुमा भ्रस्टाचारीलाई कारवाही भनेर आएका हौ । उच्चस्तरिय छानबिन आयोग बनाउने, सिधै निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री, सांसद मन्त्री बन्न नपाउने, निर्वाचित पदाधिकारीको कार्यकाल तोकिनेलगायतका माग चर्चामा ल्याइएका थिए । यी सबै अधिकार वर्तमान संविधानबाटै प्राप्त हुन्छ र युवाहरुले सुरक्षा दिएर तत्काल संसद बोलाई चौरमै बसेर भएपनि संविधान संशोधन तुरुन्तै गर्न सकिन्छ । संविधान संशोधनमार्फत तत्कालै संसदबाहिरको व्यक्ति प्रधानमन्त्री बनाउन सकिन्छ । सांसद नभएको व्यक्ति मन्त्री बन्ने गरि संविधान संशोधन गरेपछि तत्कालै सबै ढोका खुल्छन् । व्यवस्था पनि रहन्छ । जनताका माग पनि पुरा हुन्छन् । 

२०४७ पछि भ्रस्टाचारजन्य गतिविधिको उच्चस्तरीय छानबिन हुनुपर्छ भनेर वर्षौंदेखी माग भएकै हो । हरेक राजनीतिक दलका नेताहरुले आवाज उठाएकै हुन् । तर, सबै जना सरकारमा नजाँदासम्म विषय उठाउने, आफ्नो स्वार्थका लागि मात्र विषय उठाउने गरेकाले यो स्थिति सिर्जना भएको हो । भ्रस्टाचारको छानबिन गरि कारवाही गर्नुपर्छ भनेर पछाडि आएका नयाँ नयाँ दलहरु पनि कसरी त्यो जन्जिरमा फसे भन्ने देखिएकै छ । जेन्जी पुस्ता ढिलो ग¥यौ भने तिमीहरुको पनि कहीँ न कहीँबाट केही न केही प्रोपोगण्डा ल्याएर सिध्याउने नै हुन् । 

संविधान संसोधन प्रक्रिया तत्कालै यही संसदले अघि बढाएको खण्डमा जनताका माग पनि तत्काल सम्बोधन हुन्छन् । अन्यथा नयाँ विधि र नयाँ निर्वाचनपछि भन्यौ भने खैरियत छैन । २०६५ तिरै बन्नुपर्ने संविधान बन्न २०७२ कसरी पुग्यो र यो संविधान जारी हूँदा के–कस्ता हर्कत भए भन्ने पक्कै पनि हेरेकै थियौ । दस्तावेज पढेकै हौला । त्यसैले सनककाभरमा यो संसदलाई विघटन गर्ने र नयाँ विधि अपनाउने भन्न थाल्यौ भने जनताले अधिकारबाट हात धुनुपर्ने छ । निर्वाचनका लागि सरकार बनाउने भनेपनि २००७ देखी २०१५ सम्म कति सरकार फेरिए बुझेकै छौं । २००७ मा संविधानसभामार्फत संविधान बनाउने भनेको विषय २०१५ मा कसरी सम्झौतामा टुंगियो र राजालाई निहित अधिकार राख्दा ३० वर्ष के के भए, पढ्यौ होला । देश निरंकुस शासकको हात वा अन्य अवाच्छित व्यक्ति वा संस्थाको हातमा गयो भने फिर्ता ल्याउन कति संघर्ष गर्नुपर्छ बुझेकै हौला । त्यसैले लोकतन्त्र मास्न नलाग । अहिलेकै संसदलाई क्रियासिल गराएर तत्काल ठूला एजेण्डाहरु स्थापित गर । 

यो व्यवस्थासम्म आउने कति मानिसले साहदत प्राप्त गरे राज्य संयन्त्र हातमा लिएकाहरुले कसरी जनताका आवाजहरु दबाउँछन् भन्ने जेन्जी पुस्ताले धेरै नभोगे पनि इतिहास पढेकै छौं । व्यवस्था भत्क्यो भने कति मानिस आगामी दिनमा साहदत प्राप्त गर्लान् । अहिले बंगलादेशमा एक वर्षभित्र चुनाव गर्न भनेर बनेको सरकारले कहिले कसरी चुनाव गर्छ भन्ने टुंगोसम्म नलाएको विषयमा जानकार नै छौ ।

त्यसैले जेनजी पुस्ताहरु स्वार्थको द्धन्द्ध नबढाउ, राजनीतिक दलका कार्यकर्तामाथिको प्रहार छोड । भोली फेरी पनि जुनसुकै नाममा होस चाहिने राजनीतिक दल नै हो । लोकतन्त्रको विकल्प अरु नै तन्त्र चाहिएको हो भने अर्कै कुरा । अहिले सडकमा उत्तेजित भएर मात्रै मुलुक बन्दैन त्यसका लागि धेरै विषयहरुमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसकारण देशको रक्षार्थ केही दिन सडकमा बसेर अहिलेका सांसदहरुलाई सुरक्षा देउ र संविधान संशोधन गर । स्थगित संसदलाई सुचारु गराउ । सांसदहरुलाई चौरमा राखेर काम लगाउ । उनीहरुले पनि बल्ल बुझ्ने छन् । कसरी–कस्तो अवस्थामा काम गर्नुपर्छ । त्यही संविधानमार्फत तिमीहरुले भनेको व्यक्ति प्रधानमन्त्री बनाउ । निर्वाचनको मिति तोक र प्रक्रिया अघि बढाउ । राज्यका तत्कालै गर्नै पर्ने कामहरु अघि बढाउ । नयाँ आउने सरकारले पुनर्निमाणको कम अघि बढाउँछ । अन्यथा जनताको संविधान मासेर नयाँ नयाँ तरिका अपनायौ भने देश झनझन रसातलमा जाने छ र तिमीहरुको यो बलिदानी ‘टाईंटाई फिस’ हुने छ । 

घट्नाक्रमहरु यसरी घटाइयो कि सरकारको नेतृत्वकर्ताहरुले के भयो र कसरी भयो भन्ने बुझ्न नपाइकन हत्यारा करार हुनुप¥यो । जतिबेला प्रधानमन्त्रीले राजीनामा दिए, त्यसपछि सुरु भएको सरकारी संरचना मास्ने, उद्योगी÷व्यवसायी र व्यवसायमाथी छानीछानी आक्रमण गर्ने घट्ना भ्रस्टाचार विरोधी हुनै सक्दैन । त्यसैले जेन्जीहरु आफूआफू यसैगरि अझै केही दिन गयो भने मुलुकको अवस्था के हुन्छ कसैले भन्न सक्दैन ।

यही लोकतन्त्रले तिमीहरुले क्षणभरमा एकजुट हुने अवसर दिएको हो । निश्चय नै अहिलेको एकै दिनको घट्नामा ३० जनाले मृत्यूवरण गरे र १ हजार जना घाइते भए, त्यसको लेखाजोखा हुँदै गर्ला । कति सम्पत्ति नस्ट भयो भनेर अध्ययन गर्न र पुनर्निमाण लागत र स्रोत जुटाउने आधार पनि खोजी हुँदै गर्ला । तर, लोकतन्त्र प्राप्तिबेला लडाईं कहिले देखी सुरु भएको र कति मानिसले साहत प्राप्त गरे एकचोटी मनन् गरौं । जेन्जी पुस्ता छिटो निकास निकाल्न जतिसक्दो छिटो संसदलाई क्रियासिल बनाउ ।

अर्कोतिर राजनीतिक दलहरुका पनि युवा कार्यकर्ता, संगठित सदस्यहरु पक्कै होलान् । कुनै पार्टीका सदस्य नभएका तर, राजनीतिक रुपमा सचेत वर्ग पक्कै होलान् । तिमीहरुमा आजसम्म राजनीति गरेको र भोली पनि राजनीति गर्नुपर्छ, मुलुक चाहिन्छ, व्यवस्था चाहिन्छ भन्ने लाग्छ भने हिम्मत गर । एक्लै निस्किन नसकौला । एउटौ पार्टीका सदस्य मात्रै निस्किन नसकौला । तर, तिमीहरुका सबै संगठन र सदस्यहरु एकैपटक निस्किन के–कारणले रोकेको छ । हो, ठूला र चिनिएका केही नेतृत्वमाथी दबाब छ । उनीहरुले जेन्जीले भन्दा पनि जेन्जीका नाममा अरु कसैले मौका खोजीरहेको छ । ठूलो टाउको सकाउन पाइयो भने अरु सबै त्यसै तर्सिन्छन् भन्ने मनोविज्ञानले काम गरेको छ । 

देश चाहिन्छ, व्यवथा चाहिन्छ र भोली पनि राजनीति गर्ने हो, मुलुकको समृद्धिका लागि तिमीहरुले साँच्चिकै काम गरेका हौ भने निस्क अब । ढिला नगर । व्यवस्था नरहे बुढापाका नेताहरु त त्यसै पनि सकिन्छन् । सत्तामा रहेपनि दिन गनेर बसेकै हुन् । मौका मिल्दासम्म खाउँ भनेर बसेका हन् । जसरी अफवाहको जलपमा मुलुक खरानी बनाइयो, तिमी राजनीतिक दलहरु उठेनौ भने युवा नेतृत्वहरु बुझ तिमीहरु पनि सदाका लागि सकियौ ।